essay of mother in nepali please Ans in nepali language please
Answers
आमा भन्ने शब्द मानवदेखि जनावरसम्मलाई उत्तिकै प्रिय लाग्ने शब्द हो । बालक जन्मिएपछि जब उसको तोते बोली फुट्छ, सर्वप्रथम उसले उच्चारण गर्ने शब्द आमा नै हो । हामीलाई अकस्मात कुनै आपत आइपर्यो भने पनि फुत्त मुखबाट निस्कने शब्द आमा नै हो । कुनै समस्या आइपरेको समयमा पनि लौन आमा के गर्ने भनी हामी आमालाई ठूलो ठूलो स्वरले चिच्याएकै हुन्छौं । कसैसँग कुनै झैझगडा भयो भने मेरी आमाले मलाई जन्माएकै हैन भनी ध्वांश दिने पनि गरेकै छौं । बालक कालमा कसैसँग झैझगडा हुँदा मेरी आमालाई ल्याउँछु भनेर ताकत पनि देखाएकै हुन्छौँ । यसरी हाम्रो दैनिक जीवनमा पनि आमालाई उच्च मान्यता दिइआएको पाइन्छ ।
आमा शब्द मानवसँग मात्र सम्बन्धित भएको हुँदैन । पशु तथा जनावरसँग पनि त्यत्तिकै सम्बन्ध रहेको हुन्छ । कुनै पशुले बच्चा जन्माएपछि केही समयको अन्तरालपछि नै आमालाई सङ्केत गरी बोलाएको हुन्छ । चराचुरुङ्गीले पनि बेला बेलामा च्याँ च्याँ गरी आमालाई नै बोलाएको हुन्छ । अन्य जीव जन्तुहरूले पनि आमालाई विभिन्न रूप र तरिकाबाट खोजेकै हुन्छन् । प्रथम सृष्टिकर्ता एवम् पहिले देखिन आउने वस्तु आमा भएको हुनाले यी दुईबीच प्रगाढ माया, ममता तथा स्नेह हुन गएको हो । आमा भन्ने शब्द यो संसारमा सबैका लागि उत्तिकै प्रिय हुन पुगेको छ ।
विश्व इतिहासलाई अध्ययन गर्ने हो भने पनि ठूला ठूला साहित्यकारहरूले पनि आमालाई मुख्य स्थान दिइआएको पाइन्छ । विश्वका चर्चित उपन्यासकार म्याक्सिम गोर्कीले पनि आफनो प्रसिद्ध उपन्यासको नाम नै ुआमा’ राख्न पुगे । केवल उनले नाम मात्र राखेनन् । मुख्य पात्र नै आमालाई बनाइदिए र आमाको भूमिका क्रान्तिकारी बनाई दिए । यसले कारखानामा काम गर्ने सबैले उनलाई आमा भनी सम्बोधन गर्न थाले । क्रान्तिको विगुल फुकेर सबै मजदुरहरूलाई एकजुट हुन आह्वान गर्ने काम पनि तिनै आमाबाट सुरु भएको थियो ।
त्यस्तै गरी विश्व साहित्यमा नोबेल पुरस्कार बिजेता पर्लस् एस बकले लेखेको गुड अर्थ भन्ने उपन्यासमा पनि अनिकाल र भोकमरीले आक्रान्त पारेको समयमा पनि बुढी आबोइले भविष्यको लागि बीउ लुकाएर जोगाइराखेको कथा निकै रोचक छ । पछि त्यही बीउले खेतीपाती गरेर भोकमरीबाट जोगिन पुगेको कुरा निकै मार्मिक छ ।
दस बाह्र वर्षअघिको खबर हो, चीनको अमुक ठाउँमा पहिरो गएर आमा र काखको बालक पुरिए । पहिरो ठूलो भएकाले उद्धार कार्य सम्पन्न गराउन धेरै दिन लाग्यो । जमिन मुनि पुरिए पनि उनीहरू दुवै बाँची नै रहेका रहेछन् । अन्न, पानी केही नभएको हुँदा कसरी छोरालाई बचाउने भनी उनलाई चिन्ता पर्न थाल्यो । आफू मरेर पनि छोरालाई बचाउने उद्देश्यले आफ्नो स्तनको मुण्टोलाई टोकेर रगत निकालेर छोरालाई बचाउन सफल भएकी थिइन् । हामी आफै कल्पना गरौँ, आमाको माया आफ्ना सन्तानप्रति कस्तो हुँदो रहेछ ।
नेपालको सन्दर्भमा भन्ने हो भने आमालाई आदर गर्ने चलन परापूर्व कालदेखि नै चलिआएको पाइन्छ । घरबाट टाढा जाँदा वा बाहिरबाट घर आउँदा आमालाई ढोग गरी आशीर्वाद लिने प्रचलन हामीहरूले मानी आएकै छौँ । यो प्रचलनले एकातिर आमा छोरामा आगाध माया ममता बस्न जान्छ भने व्यक्तिको आचरणमा पनि सुधार भएको हुन्छ । यसरी हाम्रो पूर्वीय दर्शनमा आमालाई उच्च स्थानमा राखी आएका नै छ ।
पहिले बाल्यकालमा आमाले दुःख कष्ट एवम् विभिन्न हण्डर खाएर आफ्ना सन्तानलाई हुर्काएकी हुन्छिन् । पछि आमा वृद्ध भएको अवस्थामा छोराछोरीले पनि आमाले जस्तै माया तथा प्रेम गरून् भन्ने नै हाम्रो हिन्दु धर्मको मुख्य मर्म रहेको पाइन्छ । त्यसैले हाम्रा धर्मशास्त्रमा पनि आमा बाबुको कर्तव्य र छोराछोरीले गर्नुपर्ने आचरणबारे उल्लेख भएको पाइन्छ । पश्चिमी संस्कारमा अशक्त आमा बाबुलाई घरमा राख्दा त्यति स्याहार सुधार नपुग्नेदेखि स्याहार सुसार केन्द्रमा लग्ने प्रचलन बढ्दै गएको छ भने नेपालमा भने सकभर आफ्नै घरमा राखेर हेरचाह गरिन्छ । बाध्यात्मक अवस्थामा मात्र आश्रममा लगिने गरिन्छ । यसरी नेपालमा मात्र हैन, अन्य देशहरूमा पनि आमालाई विशेष स्थान दिई आदर गरेको पाइन्छ ।
अन्त्यमा
जीवन र जगतमा आमाको माया अपरम्पार नै छ । जीवजन्तु तथा जनावरले समेत आफ्ना बच्चालाई कसरी माया गरेको हुन्छ भन्ने कुरा हाम्रा आफ्नै आँखाले देखेकै छौँ भने हामी त विवेकशील मानव प्राणी हौँ, हाम्रो कर्तव्य नै हुन्छ, आमालाई माया गर्नु ।
कस्तो लग्यो प्रतिक्रिया दिनुहोला